नेपालमा अझै दुई हजार दुई सय ८५ कुष्ठरोगका बिरामी

समदृष्टि
समदृष्टि १४ माघ २०७९, शनिबार
2 Min Read
Aa


ललितपुर । चालु आर्थिक वर्षमा मुलुकभर दुई हजार दुई सय ८५ कृष्ठरोगका बिरामी भेटिएका बताइएको छ । द लेप्रोसी मिसन नेपालले लेलेको टिकाभैरवस्थित आनन्दवन अस्पतालमा ७० औँ विश्व कुष्ठरोग दिवसको अवसरमा आयोजना गरेको ‘कुष्ठरोग सम्बन्धि अन्तरक्रिया र पत्रकार सम्मेलन’ कार्यक्रममा चालु आर्थिक वर्ष २०७८(०७९ सो संख्याका बिरामी भेटिएका बताइएको हो ।

मिसनका कुष्ठरोग विशेषज्ञ डा। प्रशन्न नापितले विगतका आवमा मात्रै ११ जिल्लामा सो रोगका बिरामी रहेका भनाइ राख्दै चालु आवमा १६ जिल्लामा सो रोगका बिरामी भेटिएका बताए । उनले भने, “विशेष गरी तराईका जिल्लामा यस रोगका बिरामी देखिने गरेका छन् । बाक्लो बस्ती भएको स्थानमा बढि मात्रामा यस रोगका बिरामी भेटिएका हुन् ।” झापा, मोरङ्, सिराहा, बारा, पर्सा, धनुषा, महोतरी, सलाही, रौतहट, बारा, रुपन्देही, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र अक्षाममा सो रोगका बिरामी हाल रहेका नापितले जानकारी दिए ।

ललितपुर जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा। सतिश विष्टले मुलुकमा लगभग तीन वर्ष अघि भित्रिएको कोरोना महामारीपछि ललितपुर जिल्लामा पनि सो रोगका बिरामी बढेका बताए । उनले भने, “यस रोग अन्त्यका लागि ललितपुरमा रहेका महिला स्वास्थ्य स्वयंसेवीकाका साथै जनप्रतिनिधि मिलेर निर्मुल गराउन लाग्नुपर्ने देखिन्छ ।”

गोदावरी नगरपालिकाका प्रमुख गजेन्द्र महर्जनले सो रोगको लक्षण देखिएका मानिसले समयमै उपचार गरे भयाभहको स्थिती सिर्जना नहुने धारणा राख्दै समयमै ध्यान दिन आग्रह गरे । उनले भने, “यस अस्पतालले कोरोना महामारीका बेला उक्त सङ्क्रमणका बिरामीलाई उपचारमा सहयोग गरी नगरपालिकाको समस्या समाधानमा विशेष सहयोग गरेको छ ।” नगरपालिकाका उपप्रमुख मुना अधिकारीले विद्यालयका विद्यार्थी वर्गमाझ पनि कुष्ठरोग र सोको उपचार बारे जानकारी गराउन जरुरी रहेको बताउँदै समाजमा जनचेतना फैलाउने माध्यम विद्यार्थी रहेको सुझाव दिइन ।


वि.सं २०१३ सालमा स्वर्गीय राजा महेन्द्र वीर बिक्रम शाह भारत भ्रमणमा जाँदा आनन्दवन भन्ने स्थानमा कुष्टरोगका बिरामी उपचार गर्ने संस्था देखेपछि नेपालमा पनि उक्त तवरको अस्पताल चाहिन्छ भनी २०१५ सालमा लेलेको आनन्दवन अस्पताल स्थापना गरिएको थियो । हाल सो संस्थाका साथै अस्पतालमा मुलुकभरका कुष्ठरोगका बिरामी उपचार गर्न आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

Array