आमाले अछुत जन्माउँदिनन्, समाजले अछुत भनेर दोस्रो जन्म दिन्छ : एमाले सांसद रिजाल

समदृष्टि
समदृष्टि १५ फाल्गुन २०७९, सोमबार
1 Min Read
Aa

काठमाडौँ । नेकपा एमालेका सांसद ईश्वरबहादुर रिजालले ‘अछुत’ जन्माउने सामाजिक सोच र छुवाछूत प्रथाको अन्त्य गर्नुपर्ने बताएका छन् । प्रतिनिधिसिभाको शुक्रबारको बैठकमा बोल्दै सांसद रिजालले नेपालमा गर्भमै शासक जन्माउने प्रथा अन्त्य भए पनि गर्भबाटै अछुत भएर जन्मिने प्रथा भने अझैसम्म नहटेको भन्दै चिन्ता व्यक्त गरे ।

‘हाम्रो देश कुनै बेला एउटी महिलाले आफ्नो गर्भमा शासक बोक्ने र अर्की महिलाले गर्भमा अछुत बोक्ने प्रथाबाट देश गुज्रियो,’ सांसद रिजालले भने, ‘बल्ल–बल्ल देश गर्भमै शासक बोक्ने त्यो प्रथाबाट त मुक्त भएको छ, तर गर्भबाटै अछुतको जन्म हुने प्रथा समाप्त भएको छैन ।’

उनले अछुत जन्माउने देश भन्दा कोही पनि नेपालीको शिर ठाडो नहुने दाबी गरे । ‘सगरमाथाको देश भनेर गर्वले शिर उचो हुन्छ । त्यस्तै गौतम बुद्धको देश भन्दा छाती फुल्छ । तर अझै पनि गर्भमै अछुत जन्माउने देश भन्दा कोही पनि नेपालीको शिर उचो हुन्छ जस्तो लाग्दैन,’ उनले भने ।

सांसद् रिजालले एउटी आमाले जन्माएकै कारण अछुत हुने र अर्की आमाको कोखबाट जन्मिएकै कारण छुत हुने प्रथाको अन्त्य कहिले गर्ने ? भनेर सरकारसँग प्रश्न गरे ।

‘एउटी आमाले कहिल्यै पनि अछुत जन्माउँदिनन् । अछुत त तपाईं र म बाँचिरहेको समाजले जन्माएको हो । त्यो उसको दोस्रो जन्म हो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्

Array