मन्त्री बनाउन पार्टी नेतृत्वले पैसा लिएको भए प्रमाणित गरेर देखाउन मनिष झाकाे चुनाैती

समदृष्टि
समदृष्टि २९ चैत्र २०७९, बुधबार
2 Min Read
Aa
manish jha

काठमाण्डाै – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले मन्त्री बनाउनका लागि पार्टी नेतृत्वले रकम लिने गरेको भन्ने भनाइप्रति विश्वास गर्न नसकिने बताउनुभएको छ । पार्टीका सभापति रवि लामिछानेले करोडौँ रुपैयाँ लिएर मन्त्री बनाउने गरेको चर्चा भइरहेका बेला सांसद झाले त्याे भनाइलाई आफूले विश्वास गर्न नसक्ने बताउनुभएको हो । 

सोमवार सङ्घीय संसद् भवन परिसरमा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पार्टी सभापति लामिछानेले मन्त्री बनाउनका लागि रकम असुली गरेको पुष्टि गरेको देखाउन पनि चुनाैती दिनुभयो । नेपाली कांग्रेसमा आबद्धहरूले सामाजिक सञ्जाल ट्विटरमा पार्टी नेतृत्वले शिक्षामन्त्री बनाउनका लागि आठ करोड रुपैयाँ लिएको भनेर लेखेको आफूले पनि देखेको उल्लेख गर्दै सांसद झाले पुष्टि गरेको देखाउनुपर्ने बताउनुभयो । उहाँले पार्टी नेतृत्वले पार्टीका निलम्बित सांसद ढाकाकुमार श्रेष्ठसँग मन्त्री बनाउनका लागि साढे दुई करोड रुपैयाँ मागेको भन्ने कुरा पनि सत्य नभएको जिकिर गर्नुभयो ।

मन्त्री बनाउनका लागि पार्टी नेतृत्वलाई दुई करोड रुपैयाँ दिनुपर्ने भन्दै व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो आइतवार (हिजो) सार्वजनिक भएपछि पार्टीका सांसद श्रेष्ठ निलम्बित हुनुभएकाे छ । सांसद झाले भने पार्टी नेतृत्वबाट त्यस्तो काम नभएको बरु आरोप लगाउने कांग्रेस पार्टीभित्र भने त्यस्तो हुने गरेको प्रमाण आफूहरूसँग रहेको दाबी गर्दै दोषीलाई कारबाही गरेर देखाउन पनि कांग्रेस नेतृत्वलाई चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘मन्त्री बनाउन पार्टी नेतृत्वले साढे दुई करोड रुपैयाँ मागेको थियो भन्ने कुरामा विश्वास गर्दिनँ । मैले पनि ट्विटरमा केही कांग्रेसीजनले शिक्षामन्त्री बन्नलाई आठ कराेड रुपैयाँ माग्याे भनेर लेखेकाे देखेँ । त्यसमा म विश्वास गर्दिनँ । पैसा मागेकाे प्रमाण पेस गर्न म चुनाैती दिन चाहन्छु ।’

सांसद झाले विवादमा परेपछि निलम्बनमा परेका सांसद श्रेष्ठसँग पार्टीले सम्बन्धविच्छेद गरेको पनि स्पष्ट पार्नुभयो । छानबिनका लागि पार्टीका सदस्यहरूलाई प्रभाव पार्न सक्ने भन्दै आफूहरूले निलम्बित सांसद श्रेष्ठसँग सम्बन्धविच्छेद गरेर छानबिनकाे प्रक्रियालाई अघि बढाउनुपरेको उहाँले बताउनुभयाे । आरोप पुष्टि भए निलम्बित सांसद श्रेष्ठमाथि कारबाही हुने पनि उहाँले स्पष्ट पार्नुभयो ।’

सांसद झाले निलम्बित सांसद श्रेष्ठलाई जोगाएर आफूहरूले मतदाताको मतमाथि विश्वासघात नगर्ने पनि पटक–पटक दोहोर्‍याउनुभयाे । व्यवसायी प्रसाईंसँगको अडियो प्रकरण सार्वजनिक भएलगत्तै आइतवार (हिजो) सांसद श्रेष्ठलाई निलम्बन गरी ७२ घण्टाभित्र छानबिन गरी आरोप पुष्टि भए कारबाही गर्ने राष्ट्रिय स्वतन्त्र पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

Array