माल्टालाई समृद्ध बनाउने आधारहरु

समदृष्टि
समदृष्टि २५ भाद्र २०८०, सोमबार
6 Min Read
Aa

मनोज सापकोटा

झट्ट सुन्दा युरोपियन देश जस्तो लाग्ने माल्टा जस्तो सुन्दर नाम छ भौगोलिक बनावट पनि उस्तै सुन्दर । ललितपुरको सातदोबाटोबाट लगभग ३५ किलोमिटर टाढा पर्ने यो गाउँ दक्षिण ललितपुरको बागमती गाउँपालिकामा पर्दछ । जिल्ला ललितपुर नै भएता पनि भौगोलिक हिसाबले बिकट र बिकासको हिसाबले पछि परेको यो भू-भाग सम्भावना नै सम्भावनाले भरिएको छ । प्रकृतिले सुन्दरता थपिदिए पनि यहाँ सबल सक्षम र शिक्षित नेतृत्वको अभावले सोचे अनुरुप बिकासले गति र जनताको जीवन स्तर माथि उठ्न सकेको छैन । यहाँका धेरै नेताले समृद्धिका ठुला ठुला भाषण छाटेका पनि सुनिन्छ तर जनताको जीवन स्तर कसरी माथि उकास्ने भनेर कुनै योजना ल्याएको देखिदैन । ठुला ठुला योजनाले हैन माल्टालाइ सानो सानो योजना द्वारा नै समृद्ध बनाउन सकिन्छ ।

माल्टाको थोरै भू-भाग सम्म भए पनि धेरै भुभाग भिरालो जग्गा जमिन रहेको छ । भिरालो भएता पनि खेती योग्य जमिन भने प्रशस्तै मात्रामा रहेको छ तर हाल जंगली जनावरले गर्दा अधिकांश पाखा भित्तामा रहेको जग्गा जमिन त्यसै बाझो नै छोड्नु पर्ने बाध्यता आएको छ । हुन पनि किन नछाड्नु दुख गर्यो गर्यो तर त्यो सबै जंगली जनावरले आएर खाइ दिन्छ ।  त्यसैले अब यस्तो जमिनमा हामिले बैकल्पिक खेती गर्नु पर्छ । अब यस्तो जमिनमा हामिले सिस्नु तितेपाती अल्लो जस्ता प्रजातिको खेती गर्नु पर्दछ । यति भन्ने बित्तिकै यो किन गर्ने ? यो गरेर के फाइदा छ ? भन्ने प्रश्न आउन सक्छ । हो, अब हामीले हाम्रो बारीमा सिस्नो लगाउन सक्छौ । सिस्नो एक प्रकारको औषधी पनि हो । हामीले सिस्नो खेती गरेर त्यसलाइ पाउडर बनाएर प्याकिङ गरेर राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा बेच्न सक्छौ । राष्ट्रिय तथा अन्तराष्ट्रिय बजारमा यसको माग प्रसस्तै रहेको सिस्नोको पाउडर बनाउनेहरु बताउँछ्न । त्यसैले यो खेती गर्न पनि सजिलो र धेरै आम्दानी हुने भएकाले यसको खेती गर्नु उपयुक्त हुन्छ ।

अब कुरा गरुम तितेपातीको, हाम्रो गाउँ घर तिर सजिलै पाइने तितेपाती पनि हामिले खेती गर्न सक्छौ । तितेपाती डलरमा बिक्छ भन्दा पत्यार नलाग्न सक्छ तर यो साँचो हो । तितेपातीलाई प्रशोधन गरेर हामीले त्यसलाइ औषधी बनाउन सक्छौ । यो औषधी मुख्य त जापानमा हाड तथा नसा सम्बन्धि उपचार गर्न निर्यात गरिन्छ । यो खेती सरल र आम्दानी दायक रहेको नेपालमा तितेपाती खेती गर्ने किसान बताउँछ्न तर यो तितेपाती हाम्रो गाउँ घरमा पाइने तितेपाती भने होइन यो अलि फरक प्रजाती हो । यसको पातको पछाडी सेतो भुवा हुन्छ । यसको माग पनि अन्तर्राष्ट्रिय बजारमा उच्च रहेकोले यो खेती गर्नु पनि उपयुक्त हुन्छ जसमा बादर लगाएत जङ्गली जन्तुले बाली खाने डर पनि हुदैन ।  यो रोपेको एक महिना पछि नै बेच्नको लागि उपयुक्त हुन्ने भएकाले हाम्रो भूगोलमा एक्दमै राम्रो हुन सक्दछ ।

अल्लो पनि हाम्रो गाउँ घरतिर सजिलै उमार्न सकिन्छ । अल्लोबाट हामीले बिभिन्न कपडा बनाउन सक्छौ । यो हाम्रो गाउँ घरतिर सजिलै पाउने भएकाले पनि यसको खेती गर्न र बजार ब्यबस्थापन गर्न धेरै गार्हो भने हुदैन ।

लप्सी अमला माल्टा मा प्रशस्त पाउने भएकाले महिलाहरुलाई यसको अचार बनाउने तालिमहरु सञ्चालन गरेर ब्याबसायिक बनाउन सकिन्छ । यसबाट महिला सशक्तीकरण पनि हुन्छन अब अर्को राम्रो सम्भावना भएको कुरा हो ब्याबसायिक पशुपालन । पाँचे ,डांडागाउं, सल्ले ,बगर ,दुङ्गेपानी, पाखोलामा प्रसस्तै मात्रामा घाँस तथा चरण योग्य भूभाग भएकाले पनि गाई, भैसि, बाख्रा ,कालिज, कुखुरा पाल्न सकिन्छ । बादर तथा जंगली जनावर आउने ठाउंमा यो राम्रो बिकल्प हो । अहिले पनि धेरैले पशुपालन गरे पनि त्यो ब्याबसायिक रुपमा गरेको छैन त्यसैले स्थानिय सरकारले यसलाइ मुख्य ध्यान दिनु जरुरी हुन्छ ।

माल्टा फाटमा भने ब्याबसायिक तरकारी खेती गर्न सकिन्छ । साथै माल्टाको मास भनेर परिचित मासको ब्याबसायिक रुपमा आधुनिक प्रबिधि प्रयोग गरेर खेती गर्न सक्छौ । माछा पालन ,बुङ्गुर पालन, कुखुरा पालन जस्ता ब्याबसायिक रुपमा पशुपालन गर्न पनि सक्छौ ।

 ब्याबसायिक तथा प्राबिधिक शिक्षा ब्याबसायिक तथा प्राबिधिक शिक्षा जब सम्म हुन्न तब सम्म नयाँ पुस्ताले सम्भावना र रोजगारी देख्न सक्दैन ।

त्यसैले अब माल्टामा रहेको एक मात्र मा. वि स्कुल लाई ब्याबसायिक र प्राबिधिक बनाउनु पर्छ । पढ्दै कमाउदै भन्ने कुरालाइ लागु गर्नु पर्दछ । कक्षा नौ देखि कृषि पढाउने मात्र होइन प्राक्टिकल पनि गराउनु पर्छ । मोबाईल बनाउन सिकाउनु पर्छ । पशुपालन गर्न प्राक्टिकल्लि रुपमा लगाउनु पर्छ । कक्षा ९ देखिको बिद्यार्थीलाई यस्तै काममा लगाउदै कमाउदै र पढाउदै गर्ने ब्यबस्था गर्नु पर्दछ । यसको लागि विद्यालयले आफैले जग्गा भाडामा लिएर बिद्यार्थीलाइ प्राक्टिकल गराउदै रमाउदै, कमाउदै ,पढाउदै सबल, सक्षम बनाउदै रोजगारसँग जोड्नु पर्दछ साथै विद्यालयमा नै कपाल काट्ने, तालिम ब्युटी पार्लर सम्बधी तालिम ,बेकरी बनाउने तालिम सिकाउदै रोजगारसँग जोड्नु पर्छ ।

 यसबाट हाम्रो देशबाट हाल भइहेको तिब्र वैदेशिक पलाएनलाई पनि रोक्न सहयोग गर्न सक्छ। यो सबै पूरा गर्न स्थानीय सरकारले अलिकति ध्यान दिएमा नसक्ने भने होइन तर यसको लागि सबल सक्षम र दुरदर्शी नेतृत्वको आवश्यकता पर्दछ र माल्टालाइ छिटै नै युरोप देश माल्टा नै बनाउन नसकेता पनि माल्टाका जनता समृद भएको देख्न सकिन्छ ।  हामी अबैध गरिएको गाजालाइ खेती गर्ने भन्छौ तर बैध रहेको तितेपाती अल्लो सिस्नु तिर ध्यान पुर्याउन सकेका छैनौ । यसको खेतीका लागि स्थानीय सरकारले अनुदान दिने बजारको लागि सहजिकरण गर्ने , तालिमहरु संचालन गर्ने जस्ता कामहरु गर्नु पर्दछ । के अब स्थानीय सरकारले यो कुरालाइ ध्यान देला त अब हेर्दै जाउं ।

प्रतिक्रिया दिनुहोस्

Array