हामीले बुझेको र खोजेको  प्राविधिक शिक्षा

हिमरत्न तिमल्सिन
हिमरत्न तिमल्सिन २० आश्विन २०८०, शनिबार
4 Min Read
Aa

प्रविधिमा आधारित शिक्षालाइ प्राविधिक शिक्षा भनिन्छ । अर्को भाषामा भन्नुपर्दा प्रयोगमा आधारित शिक्षा नै प्राविधिक शिक्षा हो । हामी प्राविधिक शिक्षा भन्ने वितिक्कै मेसिन तथा औजार र आविष्कार भन्ने बुझ्दछौँ तर त्यसका अलावा समाजमा परम्परागत रुपमा उत्पादित वस्तुको विकसित स्वरुप पनि एक किसिमको प्रविधि हो । जस्तै: पहिला कोलमा उखु पेल्नु , ढिकिमा चिउरा कुट्नु अहिले यी सबै काम मेसिनबाट हुन्छ त्यतिवेला प्रविधिको विकास नहुदा त्यही ढिकि , जातो नै त्यस समयका मेसिन औजार थियो । एक खालको प्रविधि थियो तर नयाँ आविष्कारले पुरानो प्रविधिलाई विस्थापित गर्दछ, त्यसैले यस्ता पुराना प्रविधिलाई पनि हामीले विर्सनु हुदैन । नयाँ पुस्तालाई  ढिकि जातो कस्तो हुन्छ भनेर प्रश्न गर्दा अलमलिने स्थिति छ । समाजमा नयाँ नयाँ प्रविधि आइरहदा हामीले पुराना प्रविधिलाई पनि कायम राख्नु पर्छ ।

पहिला गोरू जोतेर खेतमा बीउ छर्नु अहिले त्यसकै विकसित रुप ट्याक्टर हो । यसरी नयाँ प्रविधि भित्रिदा पुराना प्रविधि हराउँदै जान्छन् । हामीले हाम्रा पुराना सीप र प्रविधिलाइ पनि बंचाइ राख्नु पर्दछ । त्यतिबेला सूचना प्रविधिको विकास भई नसक्दा परेवाको खुट्टामा बाधेर चिठी आदानप्रदान गर्नु पनि त्यतिबेलाको प्रविधि हो । पछि हुलाक हुदै टेलिफोन र इमेल इन्टरनेट नै यसको विकसित रुप हो ।

 हामी अहिले इमेल इन्टरनेट मार्फत द्रुतगतिमा सूचना विचार आदानप्रदान गर्न सक्छौँ ।  हामी नयाँ प्रविधिसंगै पुराना प्रविधिलाई भुल्दै जान्छौं ।

वैज्ञानिक लिओनार्दो दा भिन्चीले आकाशमा चरा उडेको देखेर हेलिकप्टरको परिकल्पना गरे पछि उनकै परिकल्पनामा आधारित भएर राइट दाजुभाइले हेलिकप्टरको आविष्कार गरे । हाम्रा धर्मग्रन्थ तथा वेद पुराणमा देवी देवताले प्रयोग गर्ने वायुपङखी घोडा,  तथा वायु विमानको परिकल्पनाले पनि अहिलेको विज्ञान प्रविधिको विकासमा टेवा पुगेको हो । आकाशमा उड्ने विमानको परिकल्पना वेद पुराणमा पहिले गरिएको थियो त्यसैले विश्वका ठूला ठूला वैज्ञानिकहरु वेद पुराणलाइ मान्छन भने कतिपयले वैज्ञानिक युगको सुरुवात नै वेद पुराणलाइ मान्छन् । हाम्रो समाजमा डोका डाला बुन्नु , दाम्ला , डोरी बाट्नु परम्परागत सीप र प्रविधि हुन ।

अब कुरा गरौँ  प्राविधिक शिक्षाको,  यीनै परम्परागत सीप र प्रविधिमा आधारित शिक्षा नै प्राविधिक शिक्षा हो । हामी सहरमा पढेर सुखको रहरमा परम्परागत सीप र प्रविधिलाइ भुल्न पुग्दछौ । हामी पढेको मान्छेले गाउँमा आएर खेती गर्न हुदैन भन्छौँ,  भकारो फाल्न हुदैन भन्छौँ, त्यसैले बाह्र कक्षा पास गरेपछि अमेरिका , जापान अष्ट्रेलिया , युरोप जान्छौं तर यही देशलाई युरोप बनाउने बारे सोच्दैनौँ ।

हामी सहर पढेर गाउँ फर्कन र त्यही कृषि पेशालाइ अङगाल्न सक्दैनौं । हामी शिक्षित भई टोपल्छौँ त्यही माटोमा लडिबुडि गरेर हुर्किएका हामी दुइ चार वर्ष सहर बसेर आएपछि त्यही माटो हामीलाई गन्हाउन थाल्छ । हामी गाउँमा व्यवसायीक खेती र व्यवसायीक पशुपालन गर्ने बारे सोच्दैनौँ, हामी शिक्षित वर्गको ट्याग भिरेर गाउँमा त्यही खेतीपाती गर्न अल्छी मान्छौ । नाक खुम्च्याउछौ ।

 आफ्नो देशमा जुठा भाडा माझ्न अल्छी गर्ने हामी विदेश पुगेर त्यही काम गर्न कत्ति पनि लाज मान्दैनौं । हामी त्यही काम आफ्नो देशमा आएर गर्न सक्दैनौं । हामी पढ्नका लागि गाउँ छाड्छौ र पछि कामका लागि देश छाड्छौ । दुई चार वर्ष गाउँ छाडेपछि सहरिया हुन खोज्छौँ र दुइ चार वर्ष विदेश बसेर आएपछि विदेशी जीवनशैली अपनाउन खोज्छौ । जुन हाम्रो कमाइ , क्षमता भन्दा पनि निकै पर हामी पुग्न खोज्छौ । अरुले घोडा चढ्यो भन्दैमा हामी धुरी चढ्न खोज्छौ । हामी आफैले मकै छरेर विदेश गएको एक युवा पछि फर्केर आँउदा लम्मे लम्मे पातका नाम क्याहे भने जस्तै विदेशी भाषा बोल्दा गर्व गर्छौ ।

 त्यसैले हामीलाइ परम्परागत सीप र ज्ञानको आवश्यकता छ । हामी शिक्षित त भयौ तर दिक्षित हुन सकेनौं परम्परा ज्ञान सीप र प्रविधिको ज्ञान नहुदा हामी झोलामा सर्टिफिकेट बोकेर विदेशी भूमीमा भौतारिन बाध्य भयौ । त्यसैले परम्परागत सीप र ज्ञानमा आधारित शिक्षा आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्

Array