विदेशी फिल्मलाई कडाइ गर्दै चलचित्र विकाश बोर्ड

समदृष्टि
समदृष्टि ३० भाद्र २०७९, बिहीबार
2 Min Read
Aa

काठमाडौं । लगातारका दुई निर्णय । निर्णयभन्दा पनि यसले दिन खोजेको सन्देश अर्थपूर्ण छ । चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले अप्रत्यक्ष रुपमा विदेशी फिल्मलाई कडाइ गर्ने संकेत दिएका छन् ।

विदेशी फिल्मलाई प्राथमिकतामा राखेको भन्दै आरोप खेपिरहेका फिल्म हललाई १५ दिनभित्र नवीकरण गर्न र कर दाखिला गर्न अल्टिमेटम दिने निर्णय गरेका भुवनले अर्को निर्णय गरेका छन् ।

बिहीबार केही राष्ट्रिय अखबारमा बोर्डको सूचना छापिएको छ, जसको परोक्ष अर्थ पनि विदेशी फिल्मप्रतिको कडाइ नै हो । सूचनामा दुई महत्वपूर्ण कुरा छन् ।

रिलिजको एक साताअघि नै चलचित्र जाँचपासको लागि निवेदन दिनुपर्ने र बिहान ६ बजेदेखि राति ११ बजेसम्म मात्र फिल्म देखाउन पाउने गरी शो निर्धारण गर्नुपर्ने । राति ११ बजेपछि वा बिहान ६ बजेअघि फिल्म देखाउनुपर्ने भएमा प्रशासनको अनुमति लिनुपर्ने नियम पनि बोर्डले ल्याएको छ । कात्तिक १ गतेदेखि यो नियम लागू हुने जनाइएको छ ।

‘केजीएफ २’लाई मध्यरात र एकाबिहानै प्रदर्शन गरिएको भन्दै विरोध भइरहेको थियो भने हालै विदेशी फिल्म ‘ब्रह्मास्त्र’को सेन्सर नभएको कारण देखाउँदै नेपाली फिल्महरुले शो पाउन सकेका थिएनन् ।

यतिबेला भने आजको आजै वा आजको भोलि शैलीमा विदेशी फिल्मको सेन्सर हुने गरेको छ भने नेपाली फिल्मलाई सेन्सरमा प्राथमिकता दिइने गरिएको छैन । यी असन्तुष्टिबीच बोर्डले नयाँ सूचना जारी गरेको हो ।

बोर्डले सेन्सर सिफारिसमा नयाँ नियम ल्याएपछि वितरकलाई राइट खरिदमा दबाब सिर्जना भएको छ । रिलिजको दुई तीनअघि नै मात्र राइट निश्चित हुने गरेकोमा अब वितरकले धेरै पहिलेदेखि नै खरिदको प्रक्रियालाई टुंग्याउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्

Array